प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्राथमिकतामा राख्न प्रचण्डको सुझाव
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतका द्विपक्षीय मुद्दालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।
रुस भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर आयोजनासहितका कामलाई वर्तमान सरकारले निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्।
उनले नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकाससँग सम्बन्धित सहमति र समझदारीलाई पनि कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।
वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भारत भ्रमणबारे आफू स्पष्ट नभए पनि सरकारले गर्ने राम्रा काममा समर्थन र सहयोग गर्ने तथा गलत कामको आलोचना गर्ने आफ्नो नीति रहेको प्रचण्डले बताए।
रुसमा आयोजित सम्मेलनमा विश्वमा जारी युद्ध र तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका अन्तर्राष्ट्रिय मुद्दामा पार्टी तथा नेपालको धारणा प्रस्तुत गरिएको पनि उनले जानकारी दिए।