अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता
काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्तामा रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
विश्व बैंक अध्यक्ष बाङ्गाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपालमा पूर्वाधार लगानी र रोजगारी सिर्जना बढाउनुपर्नेमा जोड दिँदै एडीबी र आईएफसीलगायत विकास साझेदारसँग समन्वय गरी संयुक्त लगानी विस्तार गर्ने बताएका छन्।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार तीन दशकपछि विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता भएको हो।