नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन थप तीन वर्षको समय
संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेको ८१औँ महासभाले प्रस्ताव नम्बर ८१/एल.८ पारित गर्दै यस्तो निर्णय गरेको हो।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार थप समयले नेपाललाई स्तरोन्नतिअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधार गर्न अवसर प्रदान गर्नेछ।
नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणमा उपयोग गर्ने जनाएको छ।
त्यस्तै, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न सहज संक्रमण रणनीति तथा दिगो विकासका लक्ष्य कार्यान्वयनमा जोड दिने नेपालले जनाएको छ।