दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ हुँदै
व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा भट्टको रिटको पेसी तोकिएको हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका भट्टका तर्फबाट उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।
यसअघि गत असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अदालतले विशेष अदालत, प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरोलगायतका निकायका नाममा उक्त आदेश जारी गरेको थियो ।
त्यस्तै, विपक्षीहरूका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ प्राप्त भए वा म्याद अवधि नाघेपछि पनि नियमानुसार पेस गर्न आदेश दिइएको थियो ।
सर्वोच्च अदालतमा विचाराधीन रहेका ‘दीपक भट्ट विरुद्ध नेपाल सरकार’ भएका अन्य मुद्दासमेत अवलोकनका लागि सँगै राखेर पेस गर्न अदालतले आदेश दिएको थियो ।
शुक्रबार हुने सुनुवाइबाट भट्टको थुनासम्बन्धी विवादमा सर्वोच्च अदालतले कस्तो निर्णय गर्छ भन्ने चासो बढेको छ ।