सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ महिलाको मृत्यु, ३ जना बेपत्ता
सिन्धुलीस्थित सुनकोशी नदीमा यात्रुवाहक टाटा सुमो खस्दा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गएराति करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार को १ ज २९७६ नम्बरको टाटा सुमो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा सवार तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाहरूको सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ। घाइते हुनेमा ओखलढुङ्गाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। प्रहरीका अनुसार उनीहरूको अवस्था गम्भीर छ।
दुर्घटनापछि सुमोमा सवार अन्य तीन जना सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको छ।
दुर्घटनास्थल खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्दछ। प्रहरीले बेपत्ताहरूको खोजी, थप उद्धार तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।