कोप–३१ पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री खनालको उच्चस्तरीय कार्यक्रममा सहभागिता
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) को आगामी कोप–३१ को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाएका छन्।
कार्यक्रममा मन्त्री खनालले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौतीबारे नेपालको धारणा राख्दै जलवायु प्रभावित मुलुकका सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उनले टुभालुका प्रधानमन्त्री फेलेटी तेओ, टोङ्गाका प्रधानमन्त्री लर्ड फाकाफानुआ तथा मौरिससका राष्ट्रपति धरमवीर गोखुलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै जलवायु अनुकूलन, जलवायु वित्त, हानि–नोक्सानी तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका छन्।
स्थलगत अवलोकनका क्रममा नेपाली प्रतिनिधिमण्डलले समुद्री सतह वृद्धि र तटीय क्षयका प्रभाव न्यूनीकरणका लागि टुभालुले अपनाएका तटीय इन्जिनियरिङ तथा जलवायु अनुकूलनका उपायबारे जानकारी लिएको थियो। मन्त्री खनालले हिमालयमा बढ्दो हिमनदी पग्लिने क्रम र समुद्री सतह वृद्धिबीचको अन्तरसम्बन्धलाई औँल्याउँदै जलवायु वित्तसम्बन्धी प्रतिबद्धता समयमै, पर्याप्त र न्यायोचित रूपमा पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।