बिहीबार विश्व दृष्टि दिवस मनाइँदै
काठमाडौँ — ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार (असोज २२ गते) विश्व दृष्टि दिवस मनाइँदैछ।
दिवसका अवसरमा नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न संस्थाले आँखा परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएका छन्। यस वर्ष नियमित आँखा परीक्षण, समयमै उपचार र गुणस्तरीय आँखा स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारमा जोड दिइएको छ।
नेपालमा अन्धोपनको प्रचलन सन् १९८१ को ०.८४ प्रतिशतबाट सन् २०२२ मा ०.२८ प्रतिशतमा झरे पनि ग्लुकोमा, मधुमेहजन्य दृष्टि समस्या, आँखाको पर्दासम्बन्धी रोग र दृष्टिदोषजस्ता समस्या चुनौतीका रूपमा रहेका छन्।
नेत्रज्योति सङ्घले बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिलाई नियमित आँखा परीक्षण गर्न र दृष्टिमा समस्या देखिए समयमै स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेको छ।