करदाता प्रोत्साहन उपहार कार्यक्रमका ३३ विजेता आज घोषणा हुँदै
काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुँदैछ।
विभागका अनुसार भदौ महिनाका ३१ जना नियमित र दुई जना बम्पर गरी कुल ३३ विजेताको नाम घोषणा गरिनेछ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो।
कार्यक्रमअन्तर्गत ३१ जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दुई जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ पाउनेछन्। करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।