सुनसरीको देवानगञ्जमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते
सुनसरीको देवानगञ्ज गाउँपालिकामा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन्।
गाउँपालिकाको वडा नम्बर १ स्थित मध्यहर्षाही क्षेत्रमा शनिबार साँझ अज्ञात समूहले गोली चलाएको हो। गोली लागेर स्थानीय निरज यादव घाइते भएका छन्।
घाइते यादवको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।