आसामका दुर्गम नदी टापुमा स्वास्थ्य सेवाको आधार बन्दै मोबाइल डुङ्गा क्लिनिक
भारतको आसाम राज्यका दुर्गम नदी टापुमा सञ्चालन हुँदै आएका मोबाइल डुङ्गा क्लिनिक स्थानीय बासिन्दाका लागि स्वास्थ्य सेवाको मुख्य आधार बनेका छन्।
ब्रह्मपुत्र नदीका ‘चार’ भनिने अस्थायी टापु तथा बालुवाका थुप्रामा बसोबास गर्ने हजारौँ मानिसलाई यी क्लिनिकले चिकित्सक, औषधि, खोप तथा आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउँदै आएका छन्।
आसाममा दुई हजारभन्दा बढी नदी टापु रहे पनि धेरै क्षेत्रमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव छ। बाढी तथा नदी कटानका कारण दुर्गम बस्तीमा नियमित स्वास्थ्य सेवा पुर्याउन कठिन भएपछि सन् २००५ मा ‘आखा’ अर्थात् ‘आशा’ नामको डुङ्गा क्लिनिक कार्यक्रम सुरु गरिएको थियो।
सरकारी निकाय र युनिसेफको सहयोगमा अहिले १५ वटा डुङ्गा सञ्चालनमा छन्। ती डुङ्गा क्लिनिकबाट मासिक करिब २० हजार मानिसले स्वास्थ्य सेवा लिइरहेका छन्।
क्लिनिकले विशेषगरी मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै गर्भवतीको प्रसवपूर्व परीक्षण, बालबालिकाको नियमित खोप र आधारभूत उपचार सेवा उपलब्ध गराउँदै आएको छ। दुर्गम ‘चार’ क्षेत्रका बासिन्दाका लागि नियमित स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्थामा डुङ्गा क्लिनिक महत्त्वपूर्ण माध्यम बनेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।