ट्रम्प र जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा दुई नेताबीच भेटवार्ता हुने तय भएको हो।
जेलेन्स्कीले आइतबार ट्रम्पसँग फोनवार्ता गरेपछि न्यूयोर्कमा भेटवार्ता गर्ने सहमति भएको बताएका छन्। उनले भेटवार्ताले रूस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई अघि बढाउन सक्ने बताएका छन्।
भेटमा युद्ध अन्त्य, तनाव घटाउने उपाय, सुरक्षा तथा ऊर्जा र खाद्य सुरक्षासम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ। जेलेन्स्कीले युक्रेन कूटनीतिक समाधानका लागि गम्भीर कदम चाल्न तयार रहेको बताएका छन्।
अमेरिकी पक्षले रूस र युक्रेनबीच तनाव घटाउने पारस्परिक कदम अघि बढाउँदै वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको छ। युक्रेनी वार्ताकार रुस्तेम उमेरोभका अनुसार पछिल्ला वार्तामा रहेका अवरोधहरू घटेर एक–दुई प्रमुख विषयमा सीमित भएका छन्।
यसैबीच, रूस र युक्रेनबीच सैन्य तनाव भने बढिरहेको छ। दुवै पक्षले पछिल्ला दिनमा लामो दूरीका ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र बनाएका छन्।
मंगलबारदेखि न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय छलफल सुरु हुँदैछ। महासभाको सामान्य बहस २२ देखि २६ सेप्टेम्बरसम्म हुने संयुक्त राष्ट्रसंघले जनाएको छ।