आगजनीबाट क्षतिग्रस्त भाटभटेनीको टंगाल स्टोर पुनः सञ्चालनमा
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनः सञ्चालनमा आएको छ ।
सोमबार बिहानदेखि सञ्चालनमा आएको स्टोर औपचारिक रूपमा बिहान १० बजेदेखि ग्राहकका लागि खुला गरिएको हो । स्टोरको पुनः सञ्चालनका अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पनि उपस्थित भएका थिए ।
आगजनीबाट क्षतिग्रस्त १२ स्टोरमध्ये टंगालसहित १० वटा पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दमक र हेटौंडाका स्टोरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिइएको छ । गुरुङले कठिन परिस्थितिमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै खरानीबाट पुनः उठ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।