धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । धवलागिरि–३ घट्टेखोलामा करिब आठ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०७९ सालदेखि निर्माण सुरु भएको तीनतले भवनमा २७ वटा कोठासहित सभाहल र बैठक कक्ष रहनेछन् । भवन निर्माण सम्पन्न भएपछि छिट्टै नयाँ भवनबाट कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।
स्थानीयवासीबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि संघीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माण अघि बढाइएको हो । आर्थिक वर्ष २०७९/८० मा प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसँग सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण सामग्रीको मूल्य वृद्धि तथा संघीय सरकारबाट भुक्तानी हुनुपर्ने करसम्बन्धी रकम प्राप्त हुन ढिलाइ हुँदा भवन निर्माण प्रभावित भएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन निर्माण गर्ने धवलागिरि पहिलो गाउँपालिका बनेको छ । गाउँपालिकाले प्रशासकीय भवनसँगै वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवन निर्माणलाई समेत तीव्रता दिएको जनाएको छ ।