कोशीमा डेंगु संक्रमण बढ्दो, झापामा सबैभन्दा धेरै
कोशी प्रदेशमा डेंगु संक्रमण बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सेप्टेम्बर १९ सम्म प्रदेशका १३ वटै जिल्लामा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा सबैभन्दा बढी झापामा २२८ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीमा २०३, ओखलढुंगामा १२२ र खोटाङमा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बु र तेह्रथुममा ३–३ तथा ताप्लेजुङमा एक जनामा संक्रमण देखिएको छ ।
सोही अवधिमा विभिन्न जिल्लामा डेंगुका ५१ जना सम्भावित र दुई जना शंकास्पद बिरामी अस्पतालमा रहेको जनाइएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्न स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ ।