पहिरोले सर्लाही–सिन्धुली जोड्ने सडक अवरुद्ध, यात्रु पैदल हिँड्न बाध्य
सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने कर्मैया–पिपलमाडी सडक पहिरोका कारण अवरुद्ध भएको छ।
गत शनिबार वर्षासँगै बागमती नगरपालिका–११ का तीन स्थानमा पहिरो गएपछि करिब १६ किलोमिटर सडकखण्ड अवरुद्ध भएको हो। सडक बन्द भएपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने यात्रु पैदल हिँड्न बाध्य भएका छन्।
सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान तथा दैनिक उपभोग्य सामग्री ल्याउनसमेत समस्या भएको स्थानीयले बताएका छन्। हरिहरपुरगढी गाउँपालिका क्षेत्रका करिब एक दर्जन गाउँका बासिन्दा लामो बाटो हुँदै हेटौँडा वा सिन्धुली जान बाध्य भएका छन्।
चाडपर्वको समयमा सडक अवरुद्ध हुँदा स्थानीय, व्यवसायी तथा यातायात व्यवसायी थप समस्यामा परेका छन्। बागमती र मधेस प्रदेश जोड्ने महत्वपूर्ण लिंक रोडका रूपमा रहेको सडक तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन्।