जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा महिला पक्राउ
बझाङमा बिरामी अवस्थामा रहेको कुकुरलाई जिउँदै पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–३ पडेसकी ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरी हिरासतमा राखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछाडिको भाग पाकेको र त्यसबाट दुर्गन्ध आउने गरेको थियो। बिरामी भएपछि कुकुरले घरनजिकको बाटोमा हिँड्ने मानिसलाई टोक्न थालेको बताइएको छ।
मानिसलाई टोक्न थालेपछि रोकायाले कुकुरलाई जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलमा लगेर सेती नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।