ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, घर तथा पसल जोखिममा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । प्रारम्भिक जानकारीअनुसार आगो दाबा शेर्पाको घरबाट सुरु भएको हो । बाक्लो बस्ती रहेको बजार क्षेत्रमा आगो तीव्र रूपमा फैलिँदा आसपासका घर तथा पसलसमेत जोखिममा परेका छन् ।
आगलागीबाट घर तथा पसलमा रहेका खाद्यान्न, सामान तथा अन्य सामग्री जलेर ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङबाट दमकल घटनास्थलतर्फ पठाइएको छ ।
नेपाल प्रहरी, अन्य सुरक्षाकर्मी तथा स्थानीयवासी आगो नियन्त्रणमा लिन प्रयासरत छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
दोभान बजारमा यसअघि पनि ठूलो आगलागी भएको थियो । उक्त आगलागीमा ४० भन्दा बढी घर तथा बजारका संरचना जलेर ध्वस्त भएका थिए । यसपटकको आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।