त्रिपुरेश्वर बस आगजनीमा घाइते चालकको मृत्यु
त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा २५ वर्षीय लामाको शरीर ९० प्रतिशतभन्दा बढी जलेको थियो। उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालकी निर्देशक निजिना ताम्राकारले जानकारी दिइन्।
मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको बसमा आगजनी भएको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गम्भीर घाइते लामाको उपचारकै क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार घटना हुनुभन्दा केही मिनेटअघि राति १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ। घटनाको कारण तथा आगजनीको पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा पछिल्लो समय कोटेश्वरमा बस्दै आएका थिए। उनी विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए। केही समय ट्याक्सी र चन्द्रागिरि यातायात चलाएका उनी पछिल्लो ३–४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा कार्यरत थिए।