मणिपुरमा जातीय झडपमा दुई महिलाको मृत्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय द्वन्द्वका क्रममा भएको पछिल्लो झडपमा दुई महिलाको मृत्यु भएको छ। प्रहरीले मंगलबार भएको घटनामा दुई महिलाको मृत्यु भएको जनाएको हो।
इम्फालबाट करिब १५० किलोमिटर पश्चिममा रहेको तामेङलोङ जिल्लामा घरनजिकै भएको आक्रमणमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्ला केही आक्रमणमा नागरिकको मृत्यु हुने संख्या १० पुगेको बताइएको छ।
मणिपुरमा सन् २०२३ देखि मुख्यतः मैतेई र कुकी समुदायबीच जातीय हिंसा हुँदै आएको छ। पछिल्लो समय हिंसा नागा समुदायका समूहसम्म समेत फैलिएको जनाइएको छ। भूमि र राजनीतिक प्रभावसम्बन्धी विवादका कारण सुरु भएको हिंसामा हालसम्म २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ।
जिल्ला प्रहरी प्रमुख लानमियो लुइखामका अनुसार पछिल्लो आक्रमण इसाई नागा र कुकी समुदायबीच हालै भएको झडपसँग सम्बन्धित देखिएको छ। घटनापछि तामेङलोङमा बन्दसमेत जारी रहेको उनले बताए।
प्रहरीले घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। भारत सरकारले मणिपुरमा सामान्य अवस्था पुनःस्थापना गर्न विभिन्न प्रयास गर्दै आए पनि हिंसा पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाइएको छ।