परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षी दारबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इशाक दारबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका दुवै नेताबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल र पाकिस्तानबीच रहँदै आएको सौहार्दपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । दुवै मन्त्रीले पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीय तहमा दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो । विशेषगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चमा नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन् ।
भेटमा आपसी हित र साझा चासोका विषयमा निरन्तर संवाद तथा सहकार्यलाई अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा भएको भेटलाई नेपाल–पाकिस्तान सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा लिइएको छ ।