त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा लगाइएको एकतर्फी आवागमनको व्यवस्था हटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि गत भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीलाई काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी व्यवस्था गरिएको थियो।
मुख्य राजमार्ग सञ्चालनमा आएसँगै उक्त अस्थायी व्यवस्था हटाएर दुवै सडकमा नियमित रूपमा दुईतर्फी सवारी सञ्चालन गर्न दिइएको प्रशासनले जनाएको छ।