सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेटवार्ता भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार भएको भेटमा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफल कार्यकाल पूरा गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
सभामुख अर्यालले श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए ।
नेपालले पछिल्लो समय सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारत सरकारले पहिलो उद्धारकर्ता तथा विश्वसनीय छिमेकीका रूपमा उपलब्ध गराएको सहयोगप्रति पनि सभामुख अर्यालले विशेष आभार व्यक्त गरे । भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याउनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली र फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उनले उल्लेख गरे ।
विपद्को कठिन समयमा भारतबाट प्राप्त सहयोगले नेपाल र भारतबीच रहेको मैत्री, सद्भाव, ऐक्यबद्धता र सहकार्यको गहिरो सम्बन्धलाई थप प्रतिबिम्बित गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
भेटका क्रममा नयाँ प्रतिनिधिसभा गठनपछि बनेको नेपाल–भारत संसदीय मैत्री समूह तथा त्यसमार्फत अघि बढाउन सकिने अन्तर–संसदीय सहकार्यका विषयमा समेत छलफल भएको थियो ।
सभामुख अर्यालले संसदीय कूटनीतिले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यसबाट दुवै देशका सांसदबीच आपसी समझदारी, अनुभव आदानप्रदान तथा सहकार्य विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
भारतीय संसद्लाई नेपालले लोकतन्त्रको सुदृढ संस्थाका रूपमा उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै सभामुख अर्यालले लोकतान्त्रिक अभ्यास, संसदीय अनुभव तथा असल अभ्यासको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
भेटमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताएका थिए । उनले भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी दिँदै सङ्कटको घडीमा भारत सधैँ नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।