बाढीपीडितका लागि आएको राहत सामग्री तत्काल वितरण गर्न सांसदहरूको माग
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत सामग्री तत्काल पीडितसमक्ष पुर्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा थन्किएको भन्दै ती सामग्री तत्काल बाढीपीडितलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
सांसद बोधनारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा पुरिएका निजी भवन, वित्तीय संस्थाका भवन तथा धार्मिकस्थललगायत संरचनामा खोज तथा उद्धार अभियान सञ्चालन गर्न माग गरे।
सांसद गङ्गादेवी श्रेष्ठले बाढी प्रभावितको उचित पुनःस्थापना गर्नुका साथै पुरिएका घर तथा भएको क्षतिको यथार्थ विवरण संकलन गर्न आग्रह गरिन्। उनले भोटेकोशी नदीको कटान रोक्न आवश्यक संरचना निर्माणको काम तत्काल थाल्न पनि माग गरिन्।
त्यस्तै, सांसद टिकाभद्र हमालले बाढीपीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरे। सांसद यशोदाकुमारी बरालले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारण समस्यामा परेको भन्दै समस्या तत्काल समाधान गर्न माग गरिन्।
सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा सर्वसाधारणले उपचार सेवा पाउन नसकेको गुनासो गरे।
सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका सेवा प्रदायकले प्रवाह गरेको सेवा तथा उपलब्ध गराएको मालसामानको भुक्तानी नपाएको विषय उठाउँदै तत्काल बक्यौता रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराए।