संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा शनिबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले शहीदको रगतले लेखिएको संविधानलाई सरकारले आफ्नो काममार्फत पूर्णता दिने बताए।
उनले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधानको मर्म कार्यान्वयन गर्ने जिम्मेवारी सरकार र नागरिकको भएको बताए।
प्रधानमन्त्री शाहले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय चाहेको भन्दै सरकारका हरेक कदम त्यसै दिशातर्फ केन्द्रित रहेको बताए। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य राष्ट्रिय जीवनका आधार भएको उनको भनाइ थियो।
भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको स्वीकार गर्दै उनले त्यसविरुद्ध सरकार कडा रूपमा अघि बढिरहेको बताए। प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनमा राजनीतिक तटस्थता र सरकारी तथा सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति गर्ने नीति सरकारले अवलम्बन गरेको उनले बताए।
प्रधानमन्त्री शाहले ‘सुशासन नारा होइन, काम हो’ भन्दै संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयमार्फत राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै नवप्रवर्तन र नवउद्यमीलाई अघि बढाएर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने योजना पनि सुनाए। युवाले सडकमा उठाएको सुशासनको माग प्रविधिको प्रयोगमार्फत समेत सुनिश्चित गरिने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय भएको उल्लेख गर्दै उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकप्रति आभार व्यक्त गरे।
उनले राजनीतिक परिवर्तन र सुशासनका लागि भएका आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीद तथा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।