छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। सुनसरी, चितवन, स्याङ्जा र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का एक जनाको उपचार भइरहेको छ।
चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा बिहीबार राति मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ३२ वर्षीय शक्ति चौधरी र २९ वर्षीय नसिब चौधरी रहेका छन्। गम्भीर घाइते दुवैको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा हायस र मोटरसाइकल ठोक्किँदा पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारीको मृत्यु भएको छ। गम्भीर घाइते उनको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का एक जनाको उपचार भइरहेको छ भने हायस चालक प्रहरी नियन्त्रणमा छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–३ फाप्लामा हायसको ठक्करबाट पैदलयात्री १८ वर्षीय कालु रानाको मृत्यु भएको छ। गम्भीर घाइते रानाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हायस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।