तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक
पहिरोका कारण बुधबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ।
मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरोसँगै खसेका ठूला ढुङ्गा नेपाली सेनाले बम विस्फोट गराएर हटाएपछि शुक्रबार बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले जनाएको छ।
आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार ठूलो ढुङ्गा फुटाउन बिहीबार गरिएको पहिलो विस्फोटबाट पूर्ण रूपमा नफुटेपछि शुक्रबार पुनः विस्फोट गराएर ढुङ्गा फुटाइएको हो। त्यसपछि पहिरो पन्छाएर सडक खुलाइएको हो।
सडक सञ्चालनमा आएपछि साना सवारीसाधन आवतजावत गर्न थालेका छन्। भने ठूला सवारीसाधन सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने विष्टले बताए।
करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। यो सडक दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी र पर्यटकीय आवागमनका लागि समेत महत्त्वपूर्ण मानिन्छ।