चितवन राष्ट्रिय निकुञ्जभित्रका सडक सरसफाइ सुरु
चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी सञ्चालनलाई नियमित र व्यवस्थित बनाउन सडक सरसफाइ तथा मर्मतको काम सुरु गरिएको छ। वर्षात्का कारण सडकको दायाँबायाँ फैलिएका झाडी पन्छाउने काम थालिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार करिब ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी हटाउन थालिएको छ। गस्ती र जिप सफारीलाई सहज बनाउन सडकको अवस्था हेरी स्तरोन्नतिको कामसमेत गरिनेछ। हाल दैनिक १० जना मजदुर सडक सरसफाइमा खटिएका छन्।
असोज १७ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारीअनुसार सडकका खाल्डाखुल्डी पुर्ने, पुल मर्मत गर्नेलगायतका काम अघि बढाइएको हो। सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा सरसफाइ तथा मर्मतको काम भइरहेको निकुञ्जले जनाएको छ।
गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द रहेको थियो। पर्यटकले सौराहा, कसरा, मेघौली, माडी तथा पूर्वी नवलपरासीका विभिन्न क्षेत्रबाट निकुञ्जमा जिप सफारी गर्दै आएका छन्। निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु र घडियाल गोहीलगायत वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन्।