विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले बताए।
यस्तै, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राख्ने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।