नेटोका लडाकु विमानले लिथुआनियामा प्रवेश गरेको ड्रोन खसाले
रुस–युक्रेन युद्धका कारण नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकु विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको ड्रोन खसालेका छन्।
लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले मंगलबार ड्रोन खसालिएको जानकारी दिँदै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी आवश्यक रहेको बताएका छन्।
लिथुआनियाली राष्ट्रिय रेडियो (एलआरटी) का अनुसार प्रारम्भिक विवरणमा ड्रोन छिमेकी बेलारुसबाट आएको र पश्चिमतर्फ गइरहेको थियो। ड्रोन लिथुआनियाको मध्य भागमा रहेको कौनास ताल नजिक ग्रामीण क्षेत्रमा खसेको जनाइएको छ।
यसैबीच, पोल्यान्डले पनि युक्रेनमा रुसी ड्रोन आक्रमण बढिरहेका बेला आफ्नो हवाई क्षेत्रमा पूर्वसावधानीस्वरूप सुरक्षा अभियान सञ्चालन गरेको जनाएको छ। बाल्टिक क्षेत्रमा यसअघि पनि नेटोका लडाकु विमानले विदेशी ड्रोन खसालेका थिए।