आज विश्वकर्मा पूजा : यन्त्र, औजार र सवारीसाधनको पूजाआजामा भिड
आज असोज १ गते देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित विश्वकर्मा पूजा मनाइँदै छ।
समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले असोज १ गतेलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ। यस अवसरमा उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा रहेका मेशिनरी सामग्री, उपकरण र औजार सफाइ गरी विशेष पूजा गर्ने परम्परा छ।
विश्वकर्मा पूजाका अवसरमा मजदुर, कलाकार, शिल्पकार तथा उद्यमीहरूले आफूले दैनिक काममा प्रयोग गर्ने औजार तथा मेसिनको पूजा गरेका छन्। उद्योग तथा कलकारखानामा मेसिनरी उपकरणको पूजा गर्दै उत्पादन र व्यवसायमा प्रगतिको कामना गर्ने गरिएको छ।
यस्तै, नयाँ सवारीसाधन खरिद गरेका तथा पुराना सवारीसाधन भएका सर्वसाधारणले समेत सवारीसाधन पूजा गरेका छन्। काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठमा सवारीसाधन पूजा गर्न जानेको बिहानैदेखि भिड लागेको छ।
विश्वकर्मा पूजालाई प्रविधि, श्रम, सीप र उत्पादनसँग जोडिएको पर्वका रूपमा समेत लिइन्छ। यस दिन आफ्ना काममा प्रयोग हुने साधन तथा उपकरणको सम्मान र पूजा गर्दै सुरक्षित तथा सफल कार्यका लागि प्रार्थना गर्ने चलन रहेको छ।