त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरेका चालकको अवस्था गम्भीर
काठमाडौंको त्रिपुरेश्वरमा सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास गरेका २५ वर्षीय चालक दावा लामाको अवस्था गम्भीर रहेको छ ।
सोमबार बा.५ ख ४२७४ नम्बरको बसभित्र आफूलाई थुनेर लामाले आगो लगाएका थिए । प्रहरीको उद्धारपछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।
अस्पतालका अनुसार लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ । कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. विशाल कार्कीले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन् । लामा ललितपुरको बागमती नगरपालिका–७ का बासिन्दा हुन् ।
लामाले आत्मदाह प्रयास गर्नुको कारण खुलेको छैन । प्रारम्भिक जानकारीअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि उनले यस्तो कदम चालेको हुनसक्ने बताइएको छ । यद्यपि प्रहरीले यसबारे कुनै ठोस निष्कर्ष सार्वजनिक गरेको छैन ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीले बसमा आगो लगाउनुको कारण र ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे अनुसन्धान गरिरहेको जनाएको छ ।