हरिवनमा स्यालको आतंक, २० दिनमा १० जना घाइते
सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा स्यालको आक्रमण बढेको छ । पछिल्लो २० दिनमा स्यालको टोकाइबाट १० जना घाइते भएका छन् ।
नगरपालिकाका वडा नम्बर १, ६ र ८ मा स्यालको आक्रमण बढी देखिएको छ । गएको शुक्रबार मात्रै एक बालिकासहित चार जनालाई स्यालले आक्रमण गरेको वडा नम्बर ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिए ।
स्यालको आक्रमणबाट हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया समेत घाइते भएका छन् । वन क्षेत्र नजिकैका बस्तीमा दिउँसै स्याल प्रवेश गरी मानिस तथा पशुचौपायालाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
नगरपालिकाले स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनसँग समन्वय गरिरहेको नगरप्रमुख रमेश बुडाथोकीले बताए ।
स्यालको टोकाइबाट घाइते भएकालाई रेबिजविरुद्धको खोप लगाउने तथा उपचारको व्यवस्था भइरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोलीले गाउँमै पुगेर घाइतेको उपचारसमेत गरिरहेको छ ।