९ लाख रुपैयाँ घुससहित नापी अधिकृत डिल्लीबहादुर वली अख्तियारको नियन्त्रणमा
सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
वली नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख हुन्। छुट जग्गा दर्ताका लागि सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने विषयमा उनले सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई घुस/रिसवत मागिरहेको सूचना तथा उजुरी आयोगमा परेको थियो।
उक्त उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले वलीलाई काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट २०८३ भदौ ३१ गते नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार नियन्त्रणमा लिने क्रममा वलीबाट घुसबापत लिइएको भनिएको ९ लाख रुपैयाँसमेत बरामद गरिएको थियो।
वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बिहीबार विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।