सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरामा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।
शनिबार साँझ स्थानीय एक होटलमा भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा–२ का ३५ वर्षीय शेरबहादुर खड्का गम्भीर घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार घाइते खड्कालाई स्थानीयको सहयोगमा उपचारका लागि जितपुरसिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा पठाइएको थियो।
उपचारका क्रममा खड्काको मृत्यु भएको डीएसपी भट्टले जानकारी दिए। घटनापछि सिमराको अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का २२ वर्षीय आयुष राईसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
मृतकको शव बयोधा अस्पतालमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनापछि सिमरा क्षेत्रमा स्थानीय बासिन्दामा त्रास फैलिएको बताइएको छ।