पोखरा विश्वविद्यालयका चार संकायमा खुला प्रतिस्पर्धाबाट डिन नियुक्ति
पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्ने भएको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायका रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।
विश्वविद्यालयका अनुसार डिन पदका लागि आवेदन दिने उम्मेदवारले व्यक्तिगत विवरण (सीभी) सहित सम्बन्धित संकायको रणनीतिक विकास तथा सञ्चालनसम्बन्धी विस्तृत कार्ययोजना पेस गर्नुपर्नेछ।
कार्ययोजनामा संकायका सबल तथा दुर्बल पक्ष, अवसर र चुनौतीको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम, बजेट तथा स्रोत व्यवस्थापन र अनुगमन संयन्त्रलगायत विषय समेट्नुपर्नेछ।
डिन छनोट गर्दा उम्मेदवारको शैक्षिक योग्यता र अनुभवसँगै संकाय विकासका लागि प्रस्तुत रणनीतिक योजना तथा त्यसको कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ। खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवार छनोट गरी चारवटै संकायको नेतृत्व प्रदान गर्ने विश्वविद्यालयको तयारी छ।