नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएका राहत शिक्षक दोषी ठहर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राहत शिक्षकको जागिर खाएको अभियोगमा भोजराज न्यौपाने दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले न्यौपानेलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको कसुरमा दोषी ठहर गरेको हो।
न्यौपाने जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा माध्यमिक तहको गणित विषयका राहत शिक्षकका रूपमा कार्यरत थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनले उक्त पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी भएको भनिएका प्रवीणता प्रमाणपत्र तह (आईए) र स्नातक तह (बीए) का नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए।
प्राप्त उजुरीका आधारमा अख्तियारले गरेको छानबिन तथा अनुसन्धानका क्रममा न्यौपानेले नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई सेवा, सुविधा तथा लाभ लिएको खुलेको थियो।
त्यसपछि अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोपमा सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।
उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले न्यौपानेलाई दोषी ठहर गरेको हो। अदालतले उनलाई के सजाय सुनाउने भन्ने विषयमा फैसलाको पूर्ण विवरणबाट थप स्पष्ट हुनेछ।