फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही
सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष हालसम्म फेसबुक र इन्स्टाग्राममा ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ।
मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच ठगी नियन्त्रणका लागि सूचना आदान–प्रदान तथा सहकार्य हुँदै आएको छ। यही सहकार्यबाट ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी कारबाही गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।
मेटाले जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित १ लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाएको जनाएको छ। जुन महिनामा मात्रै विद्यालय बिदाका बेला सस्तो यात्रा प्याकेज खोज्ने परिवारलाई लक्षित गरी ठगी गर्ने प्रयासमा संलग्न समूहसँग सम्बन्धित ३३ हजार ६ सयभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको थियो।
त्यसैगरी, जुलाईमा मेटाले ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरेको जनाएको छ। तीमध्ये अधिकांश ‘शेल पेज’ अर्थात् हाल सामग्री नराखिएका वा सक्रिय रूपमा प्रयोगमा नरहेका पेज थिए। भविष्यमा यस्ता पेज अपराधीले खरिद वा कब्जा गरी ठगीका गतिविधिमा प्रयोग गर्न सक्ने जोखिम रहेकाले कारबाही गरिएको मेटाले जनाएको छ।
तर, मेटाले गत वर्षको सोही अवधिसँग तुलना हुने तथ्यांक भने सार्वजनिक गरेको छैन।
मेटाका अनुसार ठगी गर्ने समूहहरूले विभिन्न देश र डिजिटल प्लेटफर्ममा एकैपटक गतिविधि सञ्चालन गर्ने भएकाले समस्याको सम्पूर्ण तस्वीर कुनै एउटै संस्था वा प्लेटफर्मसँग नहुने अवस्था छ।
मेटाका एसिया–प्रशान्त क्षेत्रका कानुन कार्यान्वयनसम्बन्धी निर्देशक ड्यारिल पुनले सिंगापुर प्रहरीसँगको सहकार्यबाट मेटाले आफ्नै स्रोतबाट पहिचान गर्न नसक्ने जोखिम तथा गतिविधिबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको बताए।
प्राप्त सूचनाका आधारमा ठगी गर्ने नेटवर्कमाथि ठूलो स्तरमा कारबाही गर्न सकिएको र ती समूह धेरै मानिससम्म पुग्नुअघि नै उनीहरूको गतिविधि रोक्न मद्दत पुगेको उनको भनाइ छ।
मेटाको दक्षिणपूर्वी एसियाका सार्वजनिक नीति निर्देशक क्लारा कोहले ठगी गर्ने समूहहरू अहिले औद्योगिक स्तरमा सञ्चालन भइरहेको बताइन्। उनका अनुसार यस्ता समूहले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर ठूलो संख्यामा नक्कली प्रोफाइल निर्माण गर्नुका साथै थप मजबुत बनाउँदै प्रयोगकर्ताले देख्नुअघि नै ठगीसम्बन्धी सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ। नक्कली तस्बिर तथा अन्य सामग्री तयार गर्ने र हानिकारक कोडसमेत उत्पादन गर्ने गरेका छन्।
मेटाले आफ्ना प्लेटफर्ममा सुरक्षा प्रणाली थप मजबुत बनाउँदै प्रयोगकर्ताले देख्नुअघि नै ठगीसम्बन्धी सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।