लगातारको वर्षाले पाल्पाका दुई स्थानमा पहिरो, सडक अवरुद्ध
लगातार भइरहेको वर्षाका कारण पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरोका कारण सिद्धार्थ राजमार्गसहित जिल्लाका भित्री सडकखण्डमा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
तिनाउ गाउँपालिका–५ अन्तर्गत चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि केही समयदेखि सडक अवरुद्ध भएको हो। सडक बन्द भएपछि दुवैतर्फका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
पहिरोका कारण अवरुद्ध सडक खुलाउन आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
यसैगरी, रिब्दीकोट गाउँपालिका–५ स्थित माराबास र बोदीको बतासेबाट रैनादेवी छहरा गाउँपालिकातर्फ जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ। उक्त सडक खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले सडक खुलाएपछि समेत पुनः पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रुलाई मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।