भोटेकोशी बाढीपीडितका लागि अख्तियारका कर्मचारीद्वारा ६१ लाखभन्दा सहयोग
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले आफ्नो तलबबाट ६१ लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेका छन्।
आयोगका पदाधिकारी तथा कर्मचारीले स्वेच्छिक रूपमा तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा जम्मा गरेका हुन्।
आयोगका पदाधिकारीको १५ दिन, सचिवको १० दिन तथा सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीको १० दिन बराबरको तलब कट्टा गरिएको आयोगले जनाएको छ।
यस्तै, उपसचिव, शाखा अधिकृत तथा सो सरहका कर्मचारीको सात दिन, राजपत्र अनङ्कित राष्ट्रसेवक कर्मचारीको पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको तलब कट्टा गरिएको छ।
स्वेच्छिक रूपमा कट्टा गरिएको उक्त रकम बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोगले जनाएको छ।