अविरल वर्षापछि पाल्पाका राजमार्ग र ग्रामीण सडक अवरुद्ध
गएरातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका विभिन्न राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका–१ चिदीपानी हुँदै आर्यभञ्ज्याङ–रामपुर सडकखण्डमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रस्थित ड्यामसाइडमा निरन्तर पहिरो झरिरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडकमा आवतजावत जोखिमपूर्ण बनेको छ ।
प्रहरी चौकी दोभानका अनुसार माथागढी गाउँपालिका–१, चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको थियो । पहिरोले ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
सडकमा खसेको पहिरो हटाउन दुईवटा डोजर परिचालन गरिएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।
अविरल वर्षाका कारण पाल्पाका केही स्थानमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । जिल्लाका तिनाउलगायत विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको प्रहरीले जनाएको छ ।
मौसममा अझै भारी वर्षाको सम्भावना रहेकाले स्थानीय प्रशासनले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।