अविरल वर्षाले मनोहरा पुलसँगैको जमिन भासियो, आवतजावतमा रोक
अविरल वर्षाका कारण काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि उक्त पुलबाट आवतजावतमा रोक लगाइएको छ।
पुलसँगै रहेको ग्याविन जालीको भाग भासिएपछि सुरक्षाका दृष्टिले पुलबाट आउजाउ बन्द गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य खड्काले जानकारी दिए।
उक्त पुलबाट मुलपानी हुँदै काठमाडौँ र भक्तपुरतर्फ सवारीसाधन तथा सर्वसाधारण आवतजावत गर्दै आएका थिए।
लगातारको वर्षाका कारण भक्तपुरको खस्याङ खुसुङ खोलामा समेत पानीको सतह बढेको छ। डेकुचाबाट चाँगुनारायणतर्फ जाने सडकमा खोलाको बहाव बढेर सडकसम्म पुगेपछि आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ।
यसैगरी, लोकन्थलीनजिक सागबारी क्षेत्रमा नदीको सतह बढेर अस्थायी टहरासम्म पानी पुगेपछि प्रहरीले त्यहाँ बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ। एसपी खड्काका अनुसार टहरामा बस्नेहरूलाई नजिकैको आदर्श जनप्रेमी स्कुलमा लगेर राखिएको छ।
बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला मिसिने त्रिवेणीस्थलसमेत हो। लगातार वर्षाका कारण खोलामा पानीको बहाव बढेसँगै उक्त क्षेत्रमा जोखिम बढेको प्रहरीले जनाएको छ।
बिहीबारदेखि देशभर निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलाको बहाव बढ्नसक्ने भन्दै प्रहरीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।