कांग्रेस पोखरा महानगरको सभापतिमा पुनः बिजुक्छे निर्वाचित
नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । १५ औँ महाधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरेर जित दर्ता गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी सन्तोष पौडेलले ३ सय १७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरेका थिए । सभापति र पदाधिकारीको निर्वाचनमा १ हजार ४ सय ४८ मतदाता रहेकामा १ हजार ३ हजार ४१ मत खसेको थियो ।
सभापतिका लागि वर्तमान सभापति बिजुक्छे, सचिव थापा र पोखरा ६ का वडा सभापति पौडेल चुनावी मैदानमा उत्रिएका थिए ।
उपसभापतिमा ९ सय २० मत प्राप्त गरेर किर्तिबल्लभ त्रिपाठी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मीनप्रसाद भट्टराईले ३ सय ३१ मत प्राप्त गरेका थिए । महिला उपसभापतिमा सुचिता तामाङ विजयी भएकी छिन् । तामाङले ६ सय ८२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी अम्बिका ढुंगानाले ६ सय ८ मत पाइन् ।
सचिवमा धनञ्जय पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनी यस अगाडि महानगर समितिको सदस्य थिए । उनी सर्वसम्मत निर्वाचित भएका हुन् । सहसचिवमा दामोदर पराजुली विजयी भए । पराजुली ७ सय १३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी थानेश्वर तिवारीले ५ सय ६० मत पाए ।