नेपालगन्जमा जलेका ३१ हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम
नेपालगन्ज । भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनीबाट नष्ट भएका ३१ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरेको छ।
कार्यालयका अनुसार गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको स्रेस्ता कायम गरिएको हो। २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा बन्द भएको थियो। त्यसपछि मङ्सिर १ गतेदेखि भाडाको भवनबाट सेवा पुनः सञ्चालन गरिएको हो।
कार्यालय प्रमुख सन्तोष विकका अनुसार २०७४ सालपछिका स्रेस्ता डिजिटलाइज्ड भएकाले पुनः कायम गर्न सहज भए पनि त्यसभन्दा अगाडिका कागजातमा रोक्का अवस्थालगायत विवरण यकिन गर्नुपर्ने भएकाले प्रक्रिया केही लामो हुने गरेको छ।
सेवाग्राहीलाई सहजीकरण गर्न कार्यालयले सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख विकले लेखापढी व्यवसायीमार्फत सेवा लिँदा आर्थिक भार पर्न सक्ने भन्दै नागरिक सहायता कक्षबाट आवश्यक सहयोग लिन सेवाग्राहीलाई आग्रह गरेका छन्।
हाल भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले विद्युत्रोडस्थित भाडाको भवनबाट सेवा दिँदै आएको छ।