भोटेकोशी बाढीमा जुम्लाका ६३ जना अझै सम्पर्कविहीन
भोटेकोशी नदीमा आएको बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार बाढीपछि ९३ जना सम्पर्कविहीन भएकोमा हालसम्म ३० जना सम्पर्कमा आएका छन्। अझै ६३ जना सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
सम्पर्कविहीन हुनेमध्ये पातारासी गाउँपालिकाका मात्रै ४९ जना रहेका छन्। स्थानीय भक्त बुढाका अनुसार उनीहरू रसुवाको हाँकुबेँसीबाट बेपत्ता भएका हुन्।
गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार प्रतिपरिवार ४१ हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ। पालिकाको कार्यविधिअनुसार ३० हजार रुपैयाँ र सहयोगीबाट प्राप्त ११ हजार रुपैयाँ थप गरी प्रतिपरिवार ४१ हजार रुपैयाँ उपलब्ध गराइएको हो।
यस्तै, प्रभावित परिवारलाई खाद्यान्नसमेत उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।
गाउँपालिकाका अनुसार स्थानीय जङ्गवीर बोहोराको अगुवाइमा पाँच लाख ७७ हजार रुपैयाँ तथा गाउँपालिकाबाट १४ लाख ७७ हजार रुपैयाँ गरी कुल २० लाख ५४ हजार रुपैयाँ राहतका लागि जुटाइएको छ। उक्त रकमबाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।