लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्रीको अपिल
लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका छन्। नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
नदी तथा खोला किनार, पहिरोको जोखिम रहेका बस्ती र अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले अनुरोध गरेका छन्।
धानबाली भित्र्याउने समय भएकाले मौसमको अवस्था हेरेर कृषि विज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न किसानलाई आग्रह गर्दै उनले वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न सुझाव दिएका छन्।
सम्भावित विपद्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको मुख्यमन्त्री आचार्यले बताएका छन्।
उनले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा नजान र बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न प्रदेशवासीलाई आग्रह गरेका छन्। साथै, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन र पर्यटन, निर्माणलगायत जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।