नागरिकको जीवनसँग राजनीतिक परिवर्तन जोड्न सुशासन आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकमा आशा कायम राख्न राज्यले प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
उनले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य वा व्यवस्था सफल हुन नसक्ने बताए। शासकीय संरचनामा हुने परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने भन्दै उनले राजनीतिक परिवर्तनको अनुभूति नागरिकको दैनिक जीवनमा देखिनुपर्ने धारणा राखे।