काठमाडौँ जिल्ला अदालतमा कार्यरत ९ प्रहरीको जिम्मेवारी हेरफेर
काठमाडौँ जिल्ला अदालतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सहित ९ जना प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतको फैसला कार्यान्वयन इकाई तथा सुरक्षा व्यवस्थापनमा कार्यरत प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
अदालतको फैसला कार्यान्वयन इकाईमा कार्यरत वरिष्ठ सई नवराज देवकोटा र प्रहरी नायव निरीक्षक (सई) विकास थापालाई अन्यत्र सरुवा गरिएको छ। देवकोटालाई प्रहरी वृत्त मालिगाउँ तथा थापालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी सूर्यबहादुर खडकाले केही दिनअघि प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतको सुरक्षा जिम्मेवारी जिल्ला प्रहरी परिसर काठमाडौँ मातहत रहँदै आएको छ। फैसला कार्यान्वयन इकाईमा प्रहरी नायव निरीक्षक प्रदीपकुमार गोले र प्रहरी सहायक निरीक्षक विदुर खड्कालाई खटाइएको छ।
त्यस्तै, अदालतमा कार्यरत प्रहरी सहायक निरीक्षक छाया रुचाल, हवल्दार सरस्वती बर्मा, हवल्दार शिवचरण चौधरी, सहायक हवल्दार सानु तामाङ, प्रहरी जवान भुवन बर्देवा, राजीवकुमार ठाकुर र सन्तोषकुमार यादवलाई पनि त्यहाँबाट अन्यत्र सरुवा गरिएको छ।
अदालतको सुरक्षा व्यवस्थापनका लागि परिसरले वरिष्ठ हवल्दार नानीराम भण्डारी, सहायक हवल्दार विमला साउँद, प्रहरी जवान गौरी चौधरी, ललिता लामा, सतेन्द्रकुमार गिरी, नरेश साह कानु, हिक्मत खड्का र रमेश डगौरालाई खटाएको छ।
काठमाडौँ जिल्ला अदालतका एक अधिकृतका अनुसार वरिष्ठ सई देवकोटा र सई थापा फैसला कार्यान्वयन इकाईमा तथा अन्य प्रहरी कर्मचारी अदालतको सुरक्षा व्यवस्थापनमा खटिँदै आएका थिए।