विद्यालय भवनको अन्तिम बिल भुक्तानीमा घूस मागेको आरोपमा तीन कर्मचारीविरुद्ध मुद्दा
विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना प्राविधिक तथा कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध सोमबार आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार भोजपुरस्थित एक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीको प्रक्रिया अघि बढाउने क्रममा उनीहरूले विभिन्न प्राविधिक समस्या देखाउँदै सेवाग्राहीलाई दुःख–हैरानी दिएको र त्यसपछि घूस मागेको अनुसन्धानबाट खुलेको छ।
आयोगका अनुसार तीनैजनाले घूस रकम आपसमा बाँडेर खाने पूर्वयोजना बनाएका थिए। सोही योजनाअनुसार सेवाग्राहीलाई सब–इन्जिनियर रविन श्रेष्ठको बैंक खातासँग जोडिएको क्यूआर कोडमार्फत ५० हजार रुपैयाँ जम्मा गर्न लगाइएको थियो। बाँकी ८५ हजार रुपैयाँ भने इन्जिनियर सुमन राईले नगद बुझेको अख्तियारले जनाएको छ।
सेवाग्राहीको उजुरीपछि अख्तियारको टोलीले राईलाई ललितपुरबाट ८५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। लेखा अधिकृत कार्कीलाई धनकुटा र सब–इन्जिनियर श्रेष्ठलाई भोजपुरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पदीय जिम्मेवारीको दुरुपयोग गर्दै घूस लेनदेनमा संलग्न भएको आरोपमा तीनैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो।
आयोगले तीनैजना प्रतिवादीसँग जनही १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।