लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
मुख्यमन्त्री आचार्यले सम्भावित वर्षाका कारण बाढीपहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका छन्। नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
नदी तथा खोलाकिनार र पहिरोको जोखिम रहेका बस्तीमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र निर्देशन पालना गर्न उनले अनुरोध गरेका छन्। धानबाली भित्र्याउने समय भएकाले मौसमको अवस्था हेरेर कृषिविज्ञको सल्लाहअनुसार तयारी गर्न तथा वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न किसानलाई आग्रह गरिएको छ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको मुख्यमन्त्री आचार्यले बताएका छन्।
यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले पनि असोज ९ देखि ११ गतेसम्म हुरीबतास र चट्याङसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जारी गरेको सूचनामा भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा बबई, राप्तीलगायत नदी तथा खोलामा बाढी र कटानको जोखिम बढ्न सक्ने जनाइएको छ। नदी तथा खोलाको आसपासमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रका कारण दाङसहित देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।