ऋषिपञ्चमीमा आँधीखोलामा स्नान गर्ने क्रममा महिलाको मृत्यु
ऋषिपञ्चमीका अवसरमा स्याङ्जाको वालिङस्थित आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेकी वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान खोलामा नुहाउने क्रममा पाण्डेलाई पानीको बहावले बगाएको थियो। घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले खोजी थालेका थिए।
खोजीका क्रममा घटनास्थलभन्दा करिब चार किलोमिटर तल वालिङ–१३ स्थित शान्तिघाटमा आँधीखोलाको ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।